85.The Constellations

  1. आकाशको कसम, जसमा तारामण्डल छ ।
  2. र त्यस दिनको कसम जसको वाचा छ ।
  3. उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम ।
  4. कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।
  5. त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।
  6. जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।
  7. र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।
  8. यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ ।
  9. जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ ।
  10. निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ ।
  11. निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो ।
  12. निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।
  13. उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।
  14. र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।
  15. सिंहासनको स्वामी, बडो गौरवशाली छ ।
  16. जे चाहान्छ गरिहाल्छ ।
  17. के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।
  18. (अर्थात्) फिरऔन र समूदको ।
  19. केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् ।
  20. र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।
  21. बरु यो कुरआन धेरै गौरवशाली छ ।
  22. लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।