38.The letter Saad
- साद, कसम छ, त्यस कुरआनको, जुन उपदेश दिनेवाला छ ।
- तर जो काफिर छन्, उनीहरू घमण्ड र विरोधमा छन् ।
- हामीले उनीहरूभन्दा पहिला धेरै समूहलाई नष्ट गर्यौं, तब उनीहरूले धेरै कराए तर त्यो छुटकाराको समय थिएन ।
- र उनीहरूले आश्चर्य गरे कि उनीहरूको पासमा उनीहरूमध्येबाट एउटा सचेतकर्ता आयो र (इन्कार गर्नेहरूले) भन्न थालेः कि ‘‘यो त जादूगर र झूठा हो ।’’
- के उसले यति धेरै पूज्य उपास्यहरूलाई एक्लो एउटै उपास्य बनाइदियो ? यो त ठूलै आश्चर्यजनक कुरा हो ।
- उनका नायकहरूले यो भन्दै हिंडिहाले कि ‘‘हिंड र आफ्ना उपास्यहरू (को पूजा) मा डटी रह । निःसन्देह यस कुरामा कुनै स्वार्थ (नीहित) छ ।
- यो कुरा त अघिका धर्ममा पनि हामीले कहिल्यै सुनेनौं । यो बिलकुलै मनगढन्ते कुरा हो ।
- के हामी सबैमध्येबाट यसैमाथि अल्लाहको आदेश अवतरित भएको हो ? वास्तवमा उनीहरू मेरो वह्यको विषयमा सन्देहमा छन् ?’’ बरु (सत्य यो हो कि) उनीहरूले अझैसम्म मेरो यातनाको स्वाद चाखेका छैनन् ?’’
- वा के उनीहरूको पासमा तिम्रो दिनेवाला महान् पालनकर्ताको दयाका खजानाहरू छन
- वा के आकाशहरू र जमिन र जेजति उनीहरूको बीचमा छन् ती, (सबै) माथि उनैको आधिपत्य छ, त्यस्तो हो भने यिनीहरू डोरी तानेर चढिहालुन् ।
- पराजित समूहहरूमध्ये यो पनि एउटा (समूहको) सेना हो ।
- यिनीभन्दा अगाडि पनि ‘‘नूहको’’ कौम र ‘‘आद’’ र मेखवाला (किल्लावाला) फिरऔनले झूठा भनिसकेका थिए ।
- र समूद र ‘‘लूतका’’ कौम (जातिबन्धु) र बनका बासिन्दा पनि, यी नै ती समूह हुन् ।
- तिनीहरू प्रत्येकले रसूलहरूलाई आरोप लगाए तसर्थ मेरो सजाय उनीमाथि निश्चित भयो ।
- यिनीहरू त मात्र एउटा चित्कारको प्रतीक्षामा छन् जसबाट अलिकति पनि अवकाश हुनेछैन ।
- र उनी भन्छन्ः कि ‘‘हे हाम्रो पालनकर्ता ! हामीलाई हाम्रो भाग हिसाबको दिनभन्दा अगावै दिइहाल ।
- (हे पैगम्बर !) यिनीहरू जे भन्दछन्, त्यसमाथि धैर्य गर्नुस् र हाम्रो सेवक ‘‘दाऊदलाई’’ स्मरण गर्नुस् जो शक्तिशाली थिए । (र) निश्चय नै उनी (अल्लाहतिर) प्रवृत्त थिए ।
- हामीले पर्वतहरूलाई उनको आदेशको अधीन गरिदिएका थियौं कि प्रातःकाल र सन्ध्याको समय उनको साथमा गुणगान गरिराखुन् ।
- र पंक्षीहरूलाई पनि जो एकत्र हुन्थे । सबै उनका आज्ञाकारी थिए ।
- र हामीले उनको राज्यलाई सुदृढ गरिदिएका थियौं र उनलाई तत्वदर्शीता प्रदान गरेका थियौं र निर्णायक कुरा भन्ने क्षमता प्रदान गरेका थियौं ।
- र के तिमीलाई विवाद गर्नेहरूको समाचार पनि पुगेको छ ? जब उनीहरू पर्खाल चढी एकान्त कक्षमा आइपुगे ।
- जुन बेला उनीहरू ‘‘दाऊदको’’ पासमा आए, त्यतिखेर उनी उनीहरूसित तर्सिहाले । उनीहरूले भने कि भय नगर, हामी दुवैको एउटा मुद्दा छ कि, हामीमध्ये एउटाले अर्कोसित अन्याय गरेको छ, तसर्थ तपाईंले हाम्रोबीचमा ठीक–ठीक निर्णय गरिदिनुस् । र अन्याय नगर्नुहोला र हामीलाई सोझो बाटो देखाइदिनुस् ।
- (कुरा यो छ कि) यो मेरो भाइ हो । यसका उनान्सय भेंडीहरू छिन् र मेरो पासमा एउटा दुम्बी मात्र छे । यसले भन्छ कि, यसलाई पनि मलाई सुम्पिदे, र कुरामा ममाथि जबरजस्ती गर्दछ ।
- उनले भनेः के ‘‘यसले तिम्रो दुम्बीलाई आफ्नो दुम्बीहरूमा मिसाइने कुरा गरेर, निःसन्देह तिमीमाथि अन्याय गर्दछ । अधिकतर साझेदारहरू एक अर्कामाथि ज्यादति नै गर्ने गर्दछन् । हो, जसले ईमान ल्याए र असल कर्म गरे, तिनीहरू बाहेक, र यस्ता निकै कम छन् ।’’ र ‘‘दाऊदले’’ ठाने कि (यस घटनाबाट) हामीले उनको परीक्षा गरेका हौं तब उनले आफ्नो पालनकर्तासित क्षमायाचना गरे र पश्चाताप गर्दै सजदा गरे र अल्लाहतिर प्रवृत्त भए ।
- तब हामीले पनि उनलाई क्षमा गर्यौं र निश्चय नै उनी हाम्रो नजिकका र उत्तम स्थानवाला हुन् ।
- हे दाऊद ! ‘‘हामीले धरतीमा तिमीलाई उत्तराधिकारी बनाएका छौं । अतः तिमीले मानिसहरूको बीचमा सत्यताको साथ फैसला गर्नु र आफ्नो व्यक्तिगत इच्छाको अनुपालन नगर्नु कि त्यसले तिमीलाई अल्लाहको मार्गबाट विचलित गराइदिनेछ, जुन मानिसहरू अल्लाहको मार्गबाट विचलित हुन्छन्, निश्चय नै उनीहरूको निम्ति कठोर यातना छ, किनभने उनीहरूले हिसाबको दिनलाई बिर्सिदिए ।
- र हामीले आकाश र धरतीलाई र जे–जति उनीहरूको बीचमा छ, व्यर्थमा सृष्टि गरेका होइनौं । यो उनीहरूको सोचाई हो जो काफिर छन् । तसर्थ काफिरहरूको लागि नर्कको यातना छ ।
- जुन मानिसहरूले ईमान ल्याए र असल कर्म गरिराखे, के उनीहरूलाई हामीले तिनीहरू सरह गरिदिन्छौं जसले धरतीमा उपद्रव गर्दछन्, वा फेरि संयमीहरूलाई दुराचारीहरू जस्तो गरिदियौं
- (यो) धेरै अनुग्रहयुक्त किताब हो, जुन हामीले तपाईंमाथि अवतरित गरेका छौं । ताकि मानिसहरूले यसका आयतहरूमा सोचविचार गरुन् र बुद्धिवालाहरूले यसबाट शिक्षा ग्रहण गरुन् ।
- र हामीले ‘‘दाऊदलाई’’ ‘‘सुलैमान’’ नामको छोरा प्रदान गर्यौं । उनी धेरै राम्रो बन्दा (भक्त) थिए, निश्चय नै उनी अल्लाहतिर प्रवृत्त हुनेवाला थिए ।
- (स्मरण गर) जब सन्ध्याको समयमा उनका अगाडि राम्रा द्रुतगामी घोडाहरू उपस्थित गराइए ।
- तब भन्न थाले किः ‘‘मैले पालनकर्ताको स्मरणबाट (बेवास्ता भई) यी घोडाहरूसँगको मायालाई राम्रो ठानें ।’’ यहाँसम्म कि सूर्य अस्त भइसक्यो ।
- (भने कि) ‘‘उनीहरूलाई मेरो नजिकमा ल्याऊ ।’’ अनि उनीहरूको गोडा र गर्दनमा हातले मुसार्न थाले ।
- र हामीले सुलैमान (अलैहिस्सलाम)को परीक्षा गर्यौं, र उनको सिंहासनमा एउटा शरीर राखिदियौं, अनि उनी अल्लाहतिर प्रवृत्त भए ।
- उनले भनेः ‘‘हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदेऊ, र मलाई त्यो राज्य प्रदान गर, जुन म बाहेक कसैको लागि उपयुक्त नहोस् । निश्चय नै तिमी ठूलो दाता हौ ।’’
- तब हामीले वायुलाई उनको अधीनमा गरिदियौं जुन उनको आदेशानुसार, जहाँ उनी पुग्न चाहन्थे, सरलतापूर्वक पुर्याइदिन्थ्यो ।
- र शक्तिशाली जिन्नहरूलाई पनि उनको अधीन गरिदियौं, सबै भवन बनाउनेवाला र गोताखोर (डुबक्की लगाउनेवाला) लाई ।
- र अरु जिन्नहरूलाई पनि जो जंजीरमा जकडिएका थिए ।
- (हामीले भन्यौं) ‘‘यो हाम्रो बक्सीश हो, अब तिमी भलाई गर वा रोकी राख (तिमीसित) कुनै हिसाब हुनेछैन ।’’
- र उनको निम्ति हामीकहाँ धेरै सामीप्यता र उत्तम स्थान छ ।
- र हाम्रा भक्त ‘‘अय्यूब (अलैहिस्सलाम) लाई’’ पनि स्मरण गर, जब उसले आफ्नो पालनकर्तालाई पुकार्यो कि ‘‘शैतानले मलाई दुःख र पीडा पुर्याएको छ ।’’
- (हामीले भन्यौं कि धरतीमाथि) आफ्नो लातले हान, (हेर), यो (मूल), नुहाउनको निम्ति चिसो र पिउनको निम्ति (मिठो) पानी हो ।’’
- र हामीले उनका पूरै जहान परिवार र उनको साथ अरुलाई पनि उनलाई प्रदान गर्यौं । (यो) हाम्रो तर्फबाट दयालुता र बुद्धिवालाहरूको निम्ति शिक्षाको रूपमा थियो ।
- र आफ्नो हातमा झाडू (केही झारपात) लिएर त्यसबाट हिर्काऊ र शपथ नतोड ।’’ साँचो यो हो कि हामीले उनलाई ठूलो धैर्यवान् भक्त पायौं, उनी धेरै राम्रो उपासक थिए । र उनी धेरै ध्यान राख्नेवाला थिए ।
- हाम्रा उपासकहरू ‘‘इब्राहीम’’, ‘‘इस्हाक’’ र ‘‘यअ्कूबलाई’’ स्मरण गर जो शक्तिवाला र दृष्टिवाला थिए ।
- उनीहरूलाई हामीले आखिरतको विशिष्ट कुराको साथ सम्बन्धित गरिदिएका थियौं ।
- यी सबै हाम्रा नजिक रोजिएका र असल मानिसहरूमध्येका थिए ।
- इस्माईल र ‘‘यसअ’’ र ‘‘जुलकिफ्ललाई’’ पनि स्मरण गर । उनीहरू सबै असल मानिसहरूमध्येका थिए ।
- यो उपदेश हो र विश्वास गर कि संयमीहरूको निम्ति राम्रो ठाउँ छ।
- अर्थात (सधैं बासको निम्ति) जन्नतहरू छन्, जसका द्वार उनीहरूको निम्ति खुल्ला रहनेछन् ।
- त्यसमा उनीहरू आरामको साथ तकियामा टेक लगाएर बसेका हुन्छन् र थुप्रै फलफूल र थरी–थरीका पेयपदार्थको आदेश गरिरहनेछन् ।
- र उनीहरूको पासमा दृष्टि तल झुकाइराख्ने समान उमेरवाली स्त्रीहरू हुनेछिन् ।
- यी ती कुराहरू हुन् जसको वचन हिसाबको दिनको निम्ति, तिमीसित गरिएको थियो ।
- यो हामीले प्रदान गरेको जीविका हो जुन कहिल्यै समाप्त हुनेछैन ।
- यी (उपहारहरू त आज्ञाकारीहरूको निम्ति) प्रतिफल हुन् र उल्लंघनकारीहरूको निम्ति नराम्रो स्थान छ ।
- (अर्थात) नर्कछ, जसमा उनीहरू प्रवेश गर्नेछन् र त्यो एकदम नराम्रो विश्राम स्थल हो ।
- यो उम्लिराखेको तातो पानी र पीप (हो), अब त्यसको स्वाद चाखुन् ।
- र यस्तै प्रकारका अन्य धेरै यातना (हुनेछन्) ।
- ‘‘यो एउटा समूह हो जुन तिम्रो साथ(आगो)मा प्रवेश गर्नेछ । उनीहरूको निम्ति कुनै आवभगत हुनेछैन, उनीहरू त नर्कमा जानेवाला हुन्
- उनीहरूले भन्ने छन्ः ‘‘होइन, बरु तिमीलाई नै कुनै स्वागत हुनेछैन् । तिमीले नै त यो (विपना) हाम्रो सामु ल्याएका थियौ । यो बस्नको लागि नराम्रो ठाउँ हो ।’’
- उनीहरूले भन्नेछन्ः हे ‘‘हाम्रो पालनकर्ता ! जसले (कुफ्रको कुरा) पहिलादेखि हाम्रो लागि ल्याएको छ, उसलाई नर्कमा दोब्बर यातना दिनु ।’’
- र नर्कवालाहरू भन्नेछन्ः ‘‘के कारण छ कि हामीले ती व्यक्तिहरूलाई देख्दैनौं, जसलाई हामीले नराम्रामध्ये गन्थ्यौं ?’’
- के हामीले नै उनको उपहास गरेका थियौं, वा हाम्रा आँखाहरू उनीहरूतिरबाट हटेका छन् ?’’
- निश्चित जान नर्कीहरूको यो आपसमा झगडा त अवश्य हुनेछ ।
- भनिदिनुस्ः कि ‘‘म त मात्र सचेत गर्नेवाला हूँ । र एक अल्लाह सर्वशक्तिमान बाहेक अरु कोही सत्य पूज्य छैन् ।
- जो पालनकर्ता हो आकाशहरू र धरतीको, र जे ती दुईटैको बीचमा छन्, सबैको मालिक हो, सर्वशक्तिमान र ठूलो क्षमादाता ।’’
- भनिदिनुस् कि ‘‘यो एउटा ठूलो खबर हो
- जसबाट तिमीले लापरवाह भइराखेका छौ ।
- मलाई, ती अग्ला फरिश्ताहरूको कुनै ज्ञान थिएन जब उनीहरू विवाद गरिराखेका थिए ।
- मतिर त त्यो वह्य मात्र गरिन्छ कि म स्पष्टरूपले सचेत गर्नेवाला हूँ ।’’
- जब कि तपार्इंको पालनकर्ताले फरिश्ताहरूसित भन्यो कि ‘‘म माटोले मानिसको सृष्टि गर्नेवाला छु ।
- त जब मैले त्यसलाई ठिकठाक गरिहालूँ र त्यसमा आफ्नो रूह (आत्मा)फूँकिहालूँ तब तिमीहरू उसको अगाडि ढोगिहाल्नु ।’’
- तब सबै फरिश्ताहरूले ढोगे(सिज्दा गरे) ।
- तर शैतान (इबलीस)ले गरेन । उसले घमण्ड गर्यो र काफिरहरूमध्येको भइहाल्यो ।
- अल्लाहले भन्योः कि ‘‘हे इब्लीस ! जुन व्यक्तिलाई मैले आफ्ना हातहरूले सृष्टि गरें, त्यसको अगाडि ढोग्नबाट तिमीलाई कुन कुराले मनाही गर्यो, के तिमीले घमण्ड गर्यौ, वा तिमी उच्च पदवालाहरूमध्येका हौ ?’’
- उसले जवाफ दियो कि ‘‘म यसभन्दा उत्तम छु (किनकि) तिमीले मलाई आगोबाट बनायौ र यसलाई माटोबाट सृष्टि गर्यौ ।’’
- आदेश भयो तँ ‘‘यहाँबाट गइहाल, तँ तिरस्कृत छस् ।
- र तँमाथि कयामत (कियामत)को दिनसम्म मेरो धिक्कार र तिरस्कार रहनेछ ।’’
- उसले भन्यो, ‘‘हे मेरो पालनकर्ता ! मलाई त्यस दिनसम्मको लागि समय प्रदान गर जब कि मानिसहरू उठाइनेछन् ।’’
- अल्लाहबाट आदेश भयोः ‘‘तिमीलाई मोहलत दिइयो ।
- त्यसदिनसम्म जसको समय निर्धारित छ ।’’
- भन्न थाल्यो कि त्यसो भए ‘‘मलाई तिम्रो प्रतापको सौगन्ध म उनीहरू सबैलाई विचलित गरिदिनेछु ?’’
- (तर) ती बाहेक जो कि तिम्रा मनपराइएका र विशिष्ट भक्त छन् ।’’
- आदेश भयो सत्य (छ) र म सत्य नै भन्ने गर्दछु ।
- कि ‘‘तिमी र तिम्रो अनुशरण गर्नेहरू सबैबाट मैले पनि नर्कलाई भरिदिनेछु ।’’
- हे पैगम्बर ! भनिदिनुस् कि ‘‘म तिमीसित यसको कुनै बदलाको इच्छुक छैन र नत म कुनै दिखावा (आडम्बर) गर्नेमध्येको’’ हूँ ।
- यो (कुरआन) त समस्त संसारवालाहरूको निम्ति उपदेश र शिक्षा हो ।
- निश्चित छ तिमी यसको वास्तविकता केही समयपछि जानी सक्नेछौ ।