26.The Poets

  1. ता–सीन्–मीम् ।
  2. यी स्पष्ट किताबका आयतहरू (श्लोकहरू) हुन् ।
  3. (हे पैगम्बर !) शायद तपाईले (यस दुःखबाट कि) यी मानिसहरूले ईमान ल्याउँदैनन् आफ्नो प्राण नै त्यागिदिनु हुनेछ ।
  4. यदि हामीले चाहेको भए उनीहरूमाथि अकाशबाट एउटा यस्तो निशानी उतार्न सक्थ्यौं । कि जसको अगाडि उनीहरूका टाउको दीनताले झुकिरहुन् ।
  5. र उनीहरूको पासमा रहमानको तर्फबाट जुन नवीन नसिहत पनि आउँछ, उनीहरू त्यसबाट विमुख हुने भइहाले ।
  6. अब जबकि उनीहरूले झूठो भनिसकेका छन् त शीघ्र नै उनीहरूले गरेको उपहासको वास्तविकता जानी हाल्नेछन् ।
  7. के उनीहरूले धरतीलाई देखेनन् कि त्यसमा कसरी हामीले सबै प्रकारका उत्तम जोडाहरू उमारेका छौं ।
  8. निश्चय नै यसमा ठूलो निशानी छ, (यसपछि पनि) उनीहरूमध्ये अधिकांश मान्नेवाला छैनन् ।
  9. र निश्चय नै तिम्रो पालनकर्ता नै हो, जो अधिपत्यशाली, अत्यन्त दयावान छ ।
  10. र जब तपाईको पालनकर्ताले ‘‘मूसालाई’’ भन्यो कि अत्याचारी मानिसहरूको पासमा जाऊ ।
  11. ‘‘फिरऔनको’’ जातिबन्धुको पासमा, के यिनीहरू आत्मसंयम् अपनाउँदैनन्
  12. मूसाले भनेः कि मेरो पालनकर्ता मलाई त भय छ कि कतै यिनीहरूले मलाई झूठा नठानुन् ।
  13. र मेरो छाति उकुसमुकुस हुन्छ र मेरो बोली रोकिन्छ, तसर्थ तिमी हारूनतिर पनि सन्देश (वह्य) पठाइदेऊ ।
  14. र उनीहरूको ममाथि मेरो एउटा कसूरको दावी पनि छ, तसर्थ मलाई यो पनि भय छ कि मलाई मारिहाल्नेछन् ।
  15. अल्लाहबाट आदेश भयो कदापि यस्तो हुनेछैन तिमी दुवैजना हाम्रा निशानीहरू लिएर जाऊ, हामी तिम्रो साथमा सुन्नेवाला छौं ।
  16. (अतः) तिमी दुवै फिरऔनको पासमा जाऊ र भनः कि निश्चितरूपले हामी संसारको पालनकर्ताको तर्फबाट पठाइएका हौं ।
  17. र (यसकारण आएका हौं) कि तिमीहरू बनी इस्राईललाई हाम्रो साथमा जाने अनुमति देऊ ।
  18. फिरऔनले (मूसासित) भन्यो कि के हामीले तिमीलाई तिम्रो बाल्यकालमा आफूकहाँ पालेका थिएनौं ? र तिमीले तिम्रो जीवनका धेरै वर्ष हामीकहाँ बिताएका थिएनौ
  19. फेरि तिमीले आफ्नो त्यो काम गर्यौ जुन तिमीलाई थाहा छ । तिमी साह्रै नै कृतघ्न छौ ।
  20. (मूसाले) भनेः कि (हो) त्यो काम मैले त्यस बेला गरेको थिएँ जब म बाटो बिर्सिएकाहरूमध्येका थिएँ ।
  21. अनि जब मलाई तिम्रो भय लाग्यो त म तिमीकहाँबाट भागिहालें, अनि मेरो पालनकर्ताले मलाई आदेश र ज्ञान प्रदान गर्यो र मलाई आफ्ना सन्देशवाहकमध्येको बनायो ।
  22. के ममाथि तिम्रो यही भलाई हो जुन तिमीले देखाइरहेका छौ कि तिमीले बनि इस्राईललाई दास बनाएर राखेका छौ ।
  23. फिरऔनले भन्योः कि सारा संसारको मालिक भनेको के हो
  24. उनले भनेः कि ऊ आकाशहरू र पृथ्वी र जे जति त्यसको बीचमा छन् सबैको पालनकर्ता हो । यदि तिमी ईमानवाला छौ भने
  25. फिरऔैनले आफ्नो वरिपरिका मानिसहरूलाई भन्यो कि तिमीहरू सुनिरहेका छैनौ ।
  26. मूसाले भने कि ऊ तिम्रो र तिम्रा बाबुबाजेको पालनकर्ता हो ।
  27. फिरऔनले भन्योः कि मानिसहरू हो यो संदेष्टा (पैगम्बर) जुन तिमीहरूतिर पठाइएको छ, बिलकुल्लै पागल छ ।
  28. मूसाले भनेः कि पूर्व र पश्चिम र जे–जति यी दुवैको बीचमा छन् सबैको रब (पालनकर्ता) पनि उही हो, यदि तिमीमा बुझ्ने बुद्धि छ भने ।
  29. फिरऔनले भन्योः कि सुन यदि तिमीले म बाहेक अरु कसैलाई पूज्य बनायौ भने म तिमीलाई बन्दी बनाएर राख्छु ।
  30. मूसाले भने कि यदि म तिम्रो पासमा कुनै स्पष्ट कुरा ल्याऊँ तैपनि
  31. फिरऔनले भन्यो, यदि तिमी साँचो हौ भने त्यसलाई (ल्याएर) पेश गर ।
  32. अनि उनले (मूसाले) आफ्नो लठ्ठी त्यतिबेला (जमिनमा) फ्याँके जुन त्यतिखेरै एउटा प्रत्यक्ष अजिङ्गर बनिहाल्यो ।
  33. र आफ्नो हात जब बाहिर निकाले तब त्यतिखेरै त्यो हेर्नेहरूको अगाडि सेतो टल्कने देखिनथाल्यो ।
  34. फिरऔनले आफ्नो वरिपरिका नायकहरूसित भन्योः कि निश्चय नै यो त ठूलो जादूगर हो ।
  35. यसले चाहन्छ, कि आफ्नो जादूको शक्तिले तिमीलाई तिम्रो भूमिबाट निकालिदेओस् तसर्थ तिम्रो के विचार छ
  36. उनीहरूले भनेः कि तपाईले यसलाई र यसको भाइलाई समय दिनुस् र सबै शहरहरूमा अग्रदूतहरूलाई पठाइदिनुहोस् ।
  37. ताकि सबै प्रविण जादूगरलाई तपाईको पासमा ल्याउन् ।
  38. अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।
  39. र सर्वसाधारण मानिसहरूसित भनियोः कि तिमी (सबै) भेला हुनुपर्दछ ।
  40. ताकि यदि जादूगरहरू विजयी हुन्छन् भने हामी उनकै अनुयायी भइहाल्छौं ।
  41. जादुगरहरू आएर फिरऔनसित भन्न थालेः कि यदि हामी विजयी भयौं भने के हामीलाई पुरस्कार पनि प्राप्त हुनेछ
  42. पिरऔनले भन्योः, हो र निश्चय नै तिमी त्यसबेला मेरो दरबारिया मानिसहरूमध्येबाट भइहाल्नेछौ ।
  43. मूसाले उनीहरूसित (जादूगरहरूसित) भनेः कि जे कुरा फ्याँक्नु छ फ्याँक ।
  44. तब उनीहरूले आफ्नो डोरी र लठ्ठीहरू फ्याँके र भन्न थालेः कि फिरऔनको प्रतापले हामी विजयी हुनेछौं ।
  45. अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो ।
  46. यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।
  47. (र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।
  48. अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।
  49. फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु ।
  50. उनीहरूले भनेः केही डर छैन । निःसंदेह हामी त आफ्नो पालनकर्तातिर नै फर्केर जानेवाला छौं ।
  51. हामीलाई मात्र यो नै आशा छः कि हाम्रो पालनकर्ता हाम्रो त्रुटिहरूलाई क्षमा गरिदिनेछ, किनभने हामीले सबभन्दा पहिला ईमान ल्यायौं ।
  52. र हामीले ‘‘मूसातिर’’ ‘‘वह्य’’ (अल्लाहको वाणी) पठायौं कि मेरा भक्तहरूलाई लिएर रातै–रात निस्किहाल, निश्चय नै तिमीलाई पछ्याइनेछ ।
  53. यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो ।
  54. किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’
  55. र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।
  56. र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।
  57. अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।
  58. र खजाना र राम्रा ठाउँहरूबाट पनि ।
  59. (उनीहरूको साथमा हामीले) यस्तो गर्यौं र यी सबै कुराहरूको उत्तराधिकारी हामीले बनी इस्राईलको सन्ततिलाई बनाइदियौं ।
  60. तसर्थ फिरऔनीहरूले सूर्योदय हुनासाथ तिनीहरूलाई खोज्न हिंडे ।
  61. जब दुवै समूहले एक अर्कालाई देखिहाल्यो, तब मूसाका साथीहरूले भन्नथाले कि हामी त निश्चय नै समातियौं ।
  62. मूसाले भने, कदापि होइन मेरो पालनकर्ता मेरो साथमा छ, उसले पक्कै मलाई बाटो देखाउनेछ ।
  63. त्यसबखत हामीले मूसातिर ‘‘वह्य’’ पठायौं कि आफ्नो लठ्ठीले समुद्रमाथि प्रहार गर अनि त्यसै बेला समुद्र फाटिहाल्यो र पानीको हरेक टुक्रा ठूलो पहाड जस्तो भइहाल्यो ।
  64. र हामीले अर्को समूहलाई पनि त्यहीं निकट ल्याएर उभ्याइदियौं ।
  65. र हामीले ‘‘मूसा’’ र उनको साथमा भएका सबैलाई बचाइहाल्यौं ।
  66. अनि अर्को समूहलाई डुबाइदियौं ।
  67. निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् ।
  68. र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।
  69. र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् ।
  70. जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ
  71. उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।
  72. (इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन्
  73. वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन्
  74. उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।
  75. (इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।
  76. तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।
  77. उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।
  78. जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ ।
  79. उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ ।
  80. र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ ।
  81. र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।
  82. र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।
  83. हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।
  84. र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।
  85. र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।
  86. र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।
  87. र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।
  88. जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।
  89. तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।
  90. र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।
  91. र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।
  92. र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन्
  93. अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन्
  94. अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।
  95. र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।
  96. (त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।
  97. किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’
  98. जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।
  99. र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।
  100. अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।
  101. र न कोही घनिष्ट मित्र छ ।
  102. कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।
  103. यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् ।
  104. र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ ।
  105. नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।
  106. जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन
  107. सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।
  108. तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।
  109. म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।
  110. अनि अल्लाहको भयराख र मेरा आदेश पालनगर ।
  111. उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् ।
  112. (नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए
  113. उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो ।
  114. र म मोमिनहरूलाई धपाउनेवाला होइन ।
  115. म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।
  116. उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ ।
  117. (नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।
  118. तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल ।
  119. अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।
  120. तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं ।
  121. निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् ।
  122. र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।
  123. आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।
  124. जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ
  125. म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।
  126. तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।
  127. र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।
  128. के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ
  129. र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।
  130. र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।
  131. त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।
  132. र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।
  133. उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।
  134. र बगैंचाहरूबाट र श्रोतहरूबाट ।
  135. मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।
  136. उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।
  137. यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।
  138. र हामीलाई कहिले पनि यातना दिइनेछैन ।
  139. उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।
  140. निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान ।
  141. समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने ।
  142. (जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ
  143. निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।
  144. अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।
  145. (र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।
  146. के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ
  147. (अर्थात) बगैंचा र श्रोतहरूमा ।
  148. र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।
  149. र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।
  150. तसर्थ अल्लाहसित डर र मैले भनेको मान ।
  151. र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान ।
  152. जो देशमा दंगा फसाद मचाउँछन् र सुधार गर्दैनन् ।
  153. उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।
  154. तिमी त हामी जस्तै मानिस हौ । यदि तिमी साँचो हौ भने कुनै चमत्कार प्रस्तुत गर ।
  155. (सालेहले) भने (हेर) यो ऊँटनी हो, एक दिन यसको पानी पिउने पालो हो, र एक निश्चित दिन पानी लिने पालो तिम्रो हो ।
  156. खबरदार यसलाई कुनै कष्ट नपुर्याउनु, अन्यथा तिमीलाई एकबडो दिनको यातनाले समात्ने छ ।
  157. तैपनि उनीहरूले त्यसको घुँडा काटिदिए, अनि पछि लज्जित भए ।
  158. तसर्थ उनलाई यातनाले समातिहाल्यो । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।
  159. र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ ।
  160. ‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।
  161. (जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ
  162. निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।
  163. तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।
  164. र म तिमीसित यसको प्रतिफल माँग्दिन । मेरो प्रतिफल त विश्वको पालनकर्ताको जिम्मामा छ ।
  165. के संसारमा तिमी यस्ता हौ जो पुरुषसंग व्यभिचार (गुदामैथुन) गर्दछौ
  166. र तिम्रो पालनकर्ताले तिम्रो निम्ति जुन महिलाहरूलाई तिम्रो पत्नीहरू बनाएको छ, उनीहरूलाई परित्याग गरिदिन्छौ । सत्य कुरा त यो हो कि तिमी सीमाउल्लघंन गर्नेवालाहरू नै हौ ।
  167. उनीहरूले जवाफ दिए कि हे ‘‘लूत’’! यदि तिमी मान्ने छैनौ भने देश निकाला गरिनेछौ ।
  168. उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।
  169. हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।
  170. तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।
  171. तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।
  172. त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।
  173. र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।
  174. यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।
  175. र निःसंन्देह तिम्रो पालनकर्ता उही हो अधिपत्यशाली र अत्यन्त दयावान
  176. ‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।
  177. जब कि उनीसित ‘‘शुऐबले’’ भनेः कि तिमी किन डराउँदैनौ ।
  178. निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।
  179. तसर्थ अल्लाहसित डर र मेरो भनाई मान ।
  180. र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।
  181. (हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।
  182. र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।
  183. र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।
  184. उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।
  185. उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।
  186. र तिमी त हामी जस्तै एउटा मानिस हौ र हाम्रो विचारमा तिमी झूठो हौ ।
  187. यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।
  188. (शुऐबले) भने कि, जुन काम तिमीले गर्दछौ, मेरो पालनकर्ता त्यसलाई राम्ररी जान्दछ ।
  189. किन भने उनीहरू उनलाई झूठा भनिहाले । त्यसकारण छायाँवाला दिनको यातनाले उनीहरूलाई समातिहाल्यो । निश्चय नै त्यो ठूलो (दिनको) यातना थियो ।
  190. निःसन्देह यसमा ठूलो निशानी छ तर यिनीहरूमध्ये धेरै ईमानवाला थिएनन् ।
  191. र निश्चय नै तिम्रो पालनकर्ता त उही हो अधिपत्यशाली र अत्यन्त दयावाला ।
  192. र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।
  193. यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।
  194. तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।
  195. (र) स्पष्ट अरबी भाषामा छ ।
  196. र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।
  197. के उनीहरूको लागि यो निशानी पर्याप्त छैन, कि कुरआनको सच्चाईलाई इज्राईलका विद्वानहरू पनि जान्दछन् ।
  198. र यदि हामीले यसलाई अरबी भाषा बाहेक अरु कुनै भाषाभाषीमाथि अवतरण गरेको भए ।
  199. र उसले यिनीहरूलाई त्यो पढेर सुनाउँदा यिनीहरूले यसलाई मान्दैनथे ।
  200. यसै प्रकार हामीले अपराधीहरूका हृदयमा त्यस इन्कारीलाई बसालिदियौं ।
  201. र उनीहरूले जबसम्म कष्टदायी यातना देख्दैनन् ईमान ल्याउने छैनन् ।
  202. त्यो कष्ट उनीहरूमाथि एक्कासी आइपर्नेछ र उनीहरूलाई थाहा पनि हुनेछैन ।
  203. त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं
  204. त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन्
  205. अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।
  206. तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।
  207. तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन
  208. र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।
  209. सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।
  210. यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।
  211. उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।
  212. बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।
  213. तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।
  214. र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।
  215. ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।
  216. यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।
  217. आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।
  218. जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।
  219. र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।
  220. ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।
  221. के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्
  222. तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।
  223. जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।
  224. कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।
  225. के तपाईले देख्नु भएन कि उनीहरू हरेक क्षेत्रमा बहकिरहन्छन् ।
  226. र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।
  227. ती मानिसहरू बाहेक जसले ईमान ल्याए र असल काम गरे र अल्लाहलाई धेरै स्मरण गरे । र आफूमाथि अत्याचार भएपछि प्रतिकार गरे, अत्याचारीहरूले शीघ्र नै थाहा पाउनेछन् कि कतातिर फर्कनु पर्नेछ ।